डढेलोले उजाड बनेको गत्लाङको वन ड्रोनबाट ब्युँताइने

रसुवा । झन्डै दुई दशकअघि भीषण डढेलोका कारण विनास भएको रसुवाको गत्लाङस्थित वन क्षेत्रलाई पुनः हराभरा बनाउन आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । भौगोलिक रूपमा कठिन र भिरालो जमिन भएकाले डिभिजन वन कार्यालयले ‘ड्रोन’ मार्फत वनस्पतिका बीउ छर्ने तयारी गरेको हो ।

विसं २०६५ मा भएको आगलागीले सल्ला, लालीगुराँस, धुपी र खस्रुलगायतका हजारौँ वनस्पति नष्ट भएपछि यो क्षेत्र उजाड बनेको थियो । डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी सुहाउँदा वनस्पतिका बीउ सङ्कलन गर्ने कार्य अहिले तीव्र गतिमा भइरहेको छ ।

आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बीउ छर्ने कार्य सुरू गरिने योजना छ । यसका लागि इसिमोड, वन विज्ञान अध्ययन संस्थान र डिभिजन वन कार्यालयबीच त्रिपक्षीय साझेदारी समेत भइसकेको छ । डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टरमध्ये पहिलो चरणमा एक सय हेक्टर जमिनमा बीउ छरिने छ ।

गत्लाङको जङ्गलमा डढेलोले करिब १६ हजार बहुमूल्य प्रजातिका रुखहरू नष्ट गरेको तथ्याङ्क छ । वन पुनःस्थापनाकै क्रममा हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिसकिएका छन्, जसमा २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको हो । लामो समयसम्म डढेका रुखको उचित व्यवस्थापन हुन नसक्दा जङ्गलले पुनर्जीवन पाउन ढिलाइ भएको प्राविधिकहरू बताउँछन् ।

हाल आमाछोदिङ्मो, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका विभिन्न वडाहरू समेटिएको यस वन क्षेत्रमा ६८ वटा सामुदायिक वनहरू सक्रिय छन् । भिरालो भूगोल र चैत–वैशाखको हुरीबतासका कारण डढेलो नियन्त्रण चुनौतीपूर्ण हुने भएकाले वन कार्यालयले चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *