म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ । विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन अहिले देशका ७७ वटै जिल्ला र विदेशबाट समेत बिरामीहरूको ओइरो लागेको छ ।
अस्पतालको औषधि र लामो समयको उपचारबाट निको नभएका ग्यास्ट्रिक, बाथ, छाला सम्बन्धी समस्या, ढाड दुख्ने र पुराना चोटपटक निको हुने जनविश्वासका कारण यहाँ आउनेहरूको संख्या वार्षिक २० हजार नाघिसकेको छ । कपिलवस्तुका रामलाल चालिसे र चितवनकी चमेली घर्ती क्षेत्री जस्ता धेरै व्यक्तिहरू विगत १० वर्षदेखि नियमित रूपमा यहाँ आउने गरेका छन् । तातोपानीमा डुबेपछि ग्यास्ट्रिक र हाडजोर्नीको समस्या निको भएको उनीहरूको अनुभव छ ।
अस्पताल जाँदा हुने मोटो खर्च र समयको बचत हुने भएकाले पनि सर्वसाधारणको आकर्षण बढेको हो। हाल कुण्डमा दैनिक एक हजार दुई सय जनाभन्दा बढीले स्नान गरिरहेका छन् । असोजदेखि वैशाखसम्म स्नानका लागि उपयुक्त सिजन मानिने भए पनि चुनावका कारण केही समय घटेको चाप अहिले पुनः बढेको छ ।
कुण्ड व्यवस्थापन समितिले महिला र पुरुषका लागि छुट्टाछुट्टै समय तालिका निर्धारण गरेको छ । एक पटकमा २५० जनासम्मले स्नान गर्न मिल्ने गरी पोखरीको व्यवस्थापन गरिएको छ भने एकान्तमा नुहाउन चाहनेका लागि छुट्टै पोखरीको समेत सुविधा छ ।
१० दिनसम्म स्नान गर्नका लागि प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । संकलित पर्यटकीय शुल्कको निश्चित हिस्सा सरकार र बेनी नगरपालिकालाई करको रूपमा बुझाउने गरिएको छ । गत वर्ष मात्रै नेपालका ६६ जिल्लाका साथै कोरिया, युक्रेन, रसिया र भारत लगायतका देशबाट पर्यटकहरू यहाँ आएका थिए ।
पर्यटक र बिरामीको बढ्दो चापसँगै स्थानीय होटल र होमस्टेहरू पनि भरिभराउ भएका छन् । तातोपानी क्षेत्रमा रहेका करिब २० वटा साना-ठुला होटलहरूमा पाहुना अटाउन मुस्किल परेको छ ।
कतिपय पाहुनाहरूले कोठा र ग्यास भाडामा लिएर आफैँ पकाएर खाने व्यवस्था समेत मिलाएका छन् । तातोपानीको स्नानसँगै म्याग्दी नदीको असला माछाको परिकार यहाँको मुख्य आकर्षण बनेको छ ।
प्राकृतिक रूपमै निको हुने आशामा टाढा-टाढाबाट मानिसहरू आउनुले सिंगा तातोपानी कुण्डलाई म्याग्दीको मात्र नभई देशकै महत्त्वपूर्ण पर्यटकीय र स्वास्थ्य केन्द्रको रूपमा स्थापित गरेको छ ।
