बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै एक सय ५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरू गरेको छ । काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा एक सय ५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको सोमबारबाट पुनर्निर्माण सुरू भएको छ ।

कामपा वडा नं ८ का अध्यक्ष एवं कामपाको सम्पदा तथा पर्यटन समिति संयोजक आशामान सङ्गतले जगपूजा गर्दै पुनर्निर्माणको काम प्रारम्भ गर्नुभएकाे हाे । नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) को ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब रु १३ लाख ७० हजार लागतमा फल्चा पुनर्निर्माण थालेको संयोजक सङ्गतले जानकारी दिनुभयाे ।

यो फल्चा केवल विश्रामस्थल मात्र होइन । पाशुपतको महत्त्वपूर्णमध्येको एक बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग हो । अध्यक्ष सङ्गतका अनुसार पहिले बच्छलेश्वरी जात्राको रथ उठाउने समयमा यही फल्चामा गणेश र कुमारीलाई राखेर विशेष पूजा गर्ने परम्परा थियो ।

फल्चामा कुमार र कुमारीको पूजा गरी त्यहाँ चढाइएको प्रसाद बालबालिकाहरूलाई खुवाउने चलन थियो । यसरी चढाइएको खुवाउँदा ‘बोल्न नसक्ने वा ढिलो गरी बोल्ने’ बालबालिकाको स्वर खुल्छ भन्ने जनविश्वास छ । यो जनविश्वाशलाई जीवन्त राख्न, सांस्कृतिक तथा सामाजिक कडीलाई बचाउन फल्चा पुनर्निर्माण थालिएको कामपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *