दक्षिणकालीमा ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२’ माघ ३ देखि, विजेतालाई १ लाख ५१ हजार पुरस्कार

काठमाडौं (फर्पिङ) । दक्षिणकाली नगरपालिकामा आगामी माघ ३ गतेदेखि ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजना तथा दक्षिणकाली नगरपालिकाको सहकार्यमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता फर्पिङस्थित त्रिभुवन आदर्श माविको खेल मैदान (TAMV Ground) मा ९ए साइड (9-A-Side) फर्म्याटमा खेलाइनेछ । प्रतियोगितामा नगरपालिकाका ९ वटै वडाका टोलीहरूले सहभागिता जनाउने निश्चित भएको प्रतिष्ठानका महासचिव सुमन तामाङले जानकारी दिनुभयो ।

आकर्षक नगद पुरस्कार

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताभर विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

खेल तालिका र उद्घाटन

सार्वजनिक तालिका अनुसार माघ ३ गते दिउँसो १२:१५ बजे वडा नं. ८ र वडा नं. १ बीचको खेलबाट प्रतियोगिताको उद्घाटन हुनेछ । सोही दिन दोस्रो खेलमा वडा नं. ६ र वडा नं. २ भिड्नेछन् ।
मुख्य खेलहरू:
• माघ ४ गते: वडा नं. ४ विरूद्ध वडा नं. ५ र वडा नं. ७ विरूद्ध वडा नं. ३।
• माघ ५ गते: वडा नं. ६ विरूद्ध वडा नं. ८ र वडा नं. २ विरूद्ध वडा नं. ९।
• माघ ६ देखि ११ गतेसम्म: लिग र नकआउट चरणका अन्य प्रतिस्पर्धा हुनेछन् ।
स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन र सहिदको सम्मानमा आयोजना हुन लागेको यस प्रतियोगितालाई दक्षिणकाली क्षेत्रकै प्रतिष्ठित फुटबल इभेन्टको रूपमा हेरिएको छ । आयोजकले खेल हेर्नका लागि सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई मैदानमा उपस्थित हुन आह्वान समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *