विराटनगर । तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक जीवन मात्र प्रभावित भएको छैन, यसले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारेको छ । विराटनगरस्थित कोशी अस्पतालमा मात्रै पछिल्लो समय टाउको दुखाइका बिरामीहरूको चाप बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रनु र रक्तसञ्चार प्रणालीमा आउने अवरोधले टाउको दुख्ने समस्या निम्त्याउँछ । चिसोका कारण रक्तनलीहरू खुम्चिने हुँदा टाउकोतर्फ हुने रक्तप्रवाहमा कमी आउँछ, जसले गर्दा मानिसले टाउको भारी भएको वा च्यापिएको जस्तो महसुस गर्छन् । जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसले पानी कम पिउने गर्छन्, तर शरीरमा हुने पानीको अभाव (डिहाइड्रेशन) नै टाउको दुखाइको प्रमुख कारण बन्ने गरेको छ ।
विशेषगरी मोटरसाइकल चालक, राति चिसोमा सुत्नेहरू र लामो समय एउटै आसनमा बसेर काम गर्ने व्यक्तिहरू यो समस्याबाट बढी पीडित छन् । चिसो हावाले घाँटी र काँधको मांसपेशी कडा बनाउँदा टाउकोको पछाडिको भागबाट दुखाइ सुरू भएर अगाडिसम्म फैलिने गर्छ । यसबाहेक साइनसको समस्या भएका व्यक्तिहरूमा नाक बन्द हुने, आँखाको वरिपरि दुख्ने र अनुहार भारी हुने लक्षण देखिन्छन् । माइग्रेनका बिरामीहरूका लागि त यो मौसम झनै चुनौतीपूर्ण छ, जहाँ चिसो हावा र निद्राको गडबडीले दुखाइलाई थप तीव्र बनाउँछ ।
चिकित्सकहरूका अनुसार जाडोमा घाम कम ताप्दा हुने भिटामिन ‘डी’ को कमीले पनि मांसपेशी दुखाइ र थकान बढाउँछ । उच्च रक्तचाप भएका व्यक्ति, वृद्धवृद्धा र मोबाइल-कम्प्युटरमा बढी समय बिताउनेहरू यो जोखिमको अग्रपङ्क्तिमा छन् । डा. खड्काले सामान्य टाउको दुखाइ भनेर बेवास्ता नगर्न चेतावनी दिनुभएकाे छ । यदि औषधि खाँदा पनि निको नभएमा, दृष्टि धमिलो भएमा वा ज्वरोसँगै टाउको दुखेमा तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
यो समस्याबाट बच्नका लागि प्रशस्त पानी पिउने, न्यानो कपडाले घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने र हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ । खानपान र जीवनशैलीमा सानो सुधार ल्याउन सके जाडोमा हुने यस्ता स्वास्थ्य समस्याबाट सजिलै जोगिन सकिन्छ ।
