विद्युत् ‘फेज’ असन्तुलनले पोल्ट्री फार्ममा करोडौँको क्षति

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–७ हरैयापुरस्थित एपिभी एग्रो पोल्ट्री फार्ममा १० हजारभन्दा बढी कुखुरा मरेका छन् । विद्युत् आपूर्ति ‘फेज सिक्वेन्स’ नमिल्दा गत शुक्रबार एकै रात वर्षौको लगानी गुमेको सञ्चालक दुर्गा बोहोराले जानकारी दिनुभयो ।

विसं २०७८ मा करिब रु सात करोड लगानीमा सञ्चालित यस फार्ममा पछिल्लो १० महिनायता १२ हजार कुखुरापालन गरिएका थिए । तीन महिनाअघिबाट अण्डा उत्पादन गरी मासिक रु १५ लाखसम्म आम्दानी भइरहेको अवस्थामा कुखुरा मर्दा करोडभन्दा बढी क्षति भएको बोहोराले बताउनुभयो ।

विद्युत् आपूर्ति ‘फेज सिक्वेन्स’ नमिल्दा कुखुराहरू मरेको विद्युत् प्राविधिक धीरेन्द्र शाहले बताउनुभयो । उहाँका अनुसार कुनै बेला विद्युत् मर्मत गर्दा फेज सिक्वेन्स नमिलेकाले फार्मभित्र ग्यास फ्यान र अन्य उपकरण असामान्य रूपमा चल्दा एमुनिया ग्यास अत्यधिक भरिँदा कुखुरा निसासिएर मरेका हुन् ।

शुक्रबार राति त्यस क्षेत्रका अन्य फार्ममा पनि यस्तै  समस्या आएको थियो । शाहले भन्नुभयो, “सोही वडाको खप्तड ह्याचरीमा पनि फेज सिक्वेन्स नमिले समस्या आएको थियो, समयमै खबर पाउँदा राति १२ः०० बजे नै त्यहाँ पुगेर समस्या समाधान गर्दा दुर्घटना भएन ।”

फार्म सञ्चालक बोहोराअनुसार विद्युत् आपूर्तिमा समस्या हुँदा अत्यधिक भरिँदा ठुलो नोक्सानी बेहोर्नुपरेको गुनासो गर्नुभयो । “हामी सबै सुतेका थियौँ, बिहान ४ः०० बजे मात्र फार्म हेर्दा १० हजारभन्दा बढी कुखुरा मृतावस्थामा भेटियौँ, केही बचेका छन्, ती पनि मर्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “बिमा गरेको भए पनि केही राहत मिल्ने थियो, समयमा सोच्न सकिएन । अब पछुताउनुभन्दा अर्को विकल्प रहेन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *