सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

कञ्चनपुर । सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७० नमुनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।

सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमुनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ ।

वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार, रेबिज फैलाउनमा मुख्य भूमिका कुकुरको देखिएको छ । परीक्षण गरिएका ८७ कुकुरका नमुनामध्ये ७२ मा रेबिजको सङ्क्रमण पाइएको छ । त्यस्तै, भैँसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बङ्गुरका सातमध्ये पाँच र खरायोको एउटा नमुनामा पनि पोजेटिभ देखिएको छ ।

प्रयोगशालाले आव २०७६र७७ बाट रेबिज रोग अन्वेषण तथा सर्भिलेन्स सुरू गरेको हो । सुरूमा दुई नमुनामात्र पोजेटिभ पाइएकामा २०७९/८० मा ३९, २०८०/८१ मा एक सय ५७ र चालु वर्ष एक सय ३६ पोजेटिभ देखिनु सङ्क्रमण बढ्दो क्रमलाई देखाउँछ ।

“रेबिज पशुबाट मानिसमा सर्ने रोगका रूपमा रहेको छ”, चिकित्सक जोशीले भन्नुभयो, “यो रोग जङ्गली जनावर स्याल, ब्वाँसो, फ्याउरो आदिबाट घरपालुवा कुकुर, बिरालोलगायतमा सर्छ ।” कुकुरलगायतले मानिससँगै अन्य घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वमा करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ । तीमध्ये ९५ प्रतिशत मृत्यु अफ्रिकी र एसियाली मुलुकमा हुने गरेका छन् । सङ्गठनले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजजन्य मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । नेपालमा मात्र हरेक वर्ष करिब एक लाख बढी मानिसलाई जनावरले टोकेको तथ्याङ्क छ भने १५ देखि ३६ जनाको मृत्यु हुने गरेको पाइएको छ । नेपालमा करिब २९ लाख कुकुर रहेको विश्व स्वास्थ्य सङ्गठनको अध्ययन छ ।

“रेबिजको लक्षण देखिएपछि उपचार सम्भव छैन, मृत्यु निश्चित छ, त्यसैले रोकथाममै जोड दिनुपर्छ”, वरिष्ठ पशु चिकित्सक जोशी भन्नुहुन्छ, सङ्क्रमित जनावरले टोकेपछि तत्काल साबुन पानीले घाउ सफा गरी जति सक्दो चाँडो ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउनुपर्छ ।”

उहाँका अनुसार रेबिज लागेपछि पानी पिउन मन नलाग्ने, पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, स्मरण शक्ति हराउने, ज्वरो आउनेलगायत लक्षण देखिने गर्छ ।  शरीरमा प्रवेश गरेको भाइरसको मात्राअनुसार कसैमा छिटो त कसैमा ढिलो लक्षण देखा पर्ने गरेको उहाँको भनाइ छ ।

“विकसित केही मुलुकमा रेबिज नियन्त्रण भइसकेको छ केहीमा उन्मुखको अवस्थामा छ”, उहाँले भन्नुभयो, “नेपालमा भने अझै रेबिजको चुनौती उच्च रहेको छ ।” सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके रेबिज नियन्त्रण सम्भव हुने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विश्व रेबिज दिवस २०२५ का अवसरमा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सामुदायिक कुकुरलाई रेबिजविरूद्धको खोप लगाउने कार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *