वीरगञ्ज भन्सारका यार्डमा १ सय ७९ सवारीसाधन थन्किए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँचपास नभएर थन्किएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँचचौकीमा ७५ वटा चारपाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १ सय ४ थान चार पाङ्गे सवारीसाधन भन्सार जाँचपासको प्रक्रियामा रहेका जानकारी दिनुभयो ।

‘आयातकर्ताले चाडपर्व लक्षित गरेर चार पाङ्ग्रे सवारीसाधनको जाँचपास प्रक्रिया अघि बढाउँदै आउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘भन्सारको यार्डमा रहेका सवारीसाधन क्रमशः भन्सार जाँचपासको प्रक्रियामा अघि बढ्नेछन् ।’

कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा चार पाङ्ग्रे सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया अघि बढिसकेको छभने एकीकृत जाँचचौकीमा रहेका सवारीसाधनको पनि आवश्यक प्रक्रिया अघि बढेको छ ।

बीरगन्ज नाका हुँदै चालु आवको दुई महिनामा सात अर्ब १६ लाख मूल्य बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने सामग्री (पार्टपूजा) आयात भएका हुन् ।

गत आवको दुई महिनामा पाँच अर्ब २५ करोड मूल्यका सवारीसाधन तथा सामग्री आयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *