संविधान दिवसको अवसरमा एमालेको शक्ति प्रदर्शन

सन्तोष रूचाल, धनकुटा । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको अवसर पारेर नेकपा एमाले धनकुटाले आज जनप्रर्दशन गरेको छ ।
एमाले धनकुटाले धनकुटा मदनचोकबाट निकालेको जनप्रर्दशन र्याली हुलाकटोल, भीमनारायण चोक, माथिल्लोकोप्चे, विहिबारे हटिया, तल्लोकोप्चे, टुँडिखेल हुदै मदनचोकबाट आएर कोणसभा गरेको थियो । नेपालको संविधान २०७२ को रक्षा गरौं, प्रतिगामी तत्व होशियार लेखिएको प्लेकार्ड सहित मौन र्याली निकालिएको थियो ।
उक्त र्याली पश्चात् आयोजित कोणसभामा बोल्दै पूर्वमन्त्री एवम् एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले नेपालको संविधान २०७२ संसारकै उत्कृष्ट संविधान भएकाले संविधान रक्षाको लागि सबै एकजुट हुनु पर्ने बताउनुभयो । जेन–जी आन्दोलनका जायज माग राज्यले पुरा गर्नुपर्ने बताउँदै पूर्वमन्त्री राईले उक्त आन्दोलनमा अपराधिक तत्वहरूको घुसपैठ भएका कारण राज्यको ठूलो क्षति बेहोर्नु परेकोले अपराधमा संम्लग्नलाई कानुनको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।
यसैबीच आज विहान विभिन्न कार्यक्रम गरी संविधान दिवस २०८२ धनकुटामा मनाइएको छ । धनकुटा बसपार्कमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरी सद्भाव र्याली निकालिएको छ । भीमनारायण चोकबाट सुरू भएको प्रभातफेरी भिमसेन थान, परिचय मोड, मदनचोक हुदै बसपार्कमा आएर कोणसभा गरिएको थियो । सो अवसरमा बोल्दै कोशी प्रदेशसभा सांसद इन्द्रमणि पराजुलीले सहिदले ज्यानको आहुति दिएर ल्याएको संविधान सबैले रक्षा गर्नु पर्ने बताउनुभयो । जेन–जीका जायज मागलाई सम्बोधन गर्दै भएका कमीकमजोरीलाई सच्याएर दलहरू अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सद्भाव र्यालीमा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, मानव अधिकारकर्मी लगायतका सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *