काठमाडौं । न्यून ब्याजदर र सवारी साधनको बजारमा चलेको ‘प्राइस वार’ले अहिले सवारी साधन किन्ने राम्रो अवसर बन्न पुगेको छ ।
सवारी साधन बिक्रेताहरूको दुइटा संगठन बनेसँगै यस वर्षबाट पहिलो पटक वर्षमा दुईपटक सवारी एक्स्पो हुन गइरहेको छ ।
गत साउन २१ गते बुधबारबाट ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चलिरहेको छ ।
एक्स्पोमा ५० ब्राण्डका सवारी साधनको ४८ वटा स्टल राखिएका छन् । यो एक्स्पोमा गाडी बुकिङ वा खरिद गर्दा बिक्रेताहरूले सवारीमा १ लाखदेखि २० लाख रुपैयाँसम्म नगद छुटका अफर ल्याएका छन् ।
सवारी खरिदको लागि बैंकहरूले लिने ब्याजदर पनि करिब चार वर्षयताकै न्यून छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ माघमा बैंक तथा वित्तीय संस्थाहरूले औसत १३.७२ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेका थिए ।
गत जेठमा भने यस्तो कर्जाको औसत ब्याजदर ८.४७ प्रतिशत छ ।
यसअघि असोज २०७८ मा यस्तो कर्जाको औसत ब्याजदर ८.३६ प्रतिशत थियो । तथ्यांकअनुसार हाल बैंकहरूले २०७८ यताकै न्यून ब्याजदरमा सवारी कर्जा दिइरहेका छन् ।
बैंक अनुसार भने विगतमा कर्जाको ब्याजदर १६ प्रतिशतसम्म पुगेको थियो। अहिले केही बैंकहरूले ६.५ प्रतिशत ब्याजदरमै पनि यस्तो कर्जा दिइरहेका छन् ।
कुन बैंकमा कति ब्याजमा पाइन्छ कर्जा ?
पछिल्लो समय कर्जाको ब्याजदर थप घटेको छ । नाइमामा स्टल नै राखेको एभरेष्ट बैंकले आधारमा हुने परिवर्तनसँगै फेरिने फ्लोटिङ ब्याजदर ६.५२ प्रतिशतमा र कर्जा अवधिभर स्थिर रहनेमा ७ प्रतिशत ब्याजदरमा यस्तो कर्जा दिने भएको छ ।
हाल राष्ट्रिय वाणिज्य बैंकको आधारदर ४.८९ प्रतिशत छ । बैंकले आधार दरमा न्यूनतम १.७५ देखि ३ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ । बैंकबाट करिब ६.६४ देखि ७.८९ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ ।
हाल नेपाल बैंकको आधारदर ५.६३ प्रतिशत छ । बैंकले आधार दरमा न्यूनतम ०.५० देखि ३.५० प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ। बैंकबाट करिब ६.१३ देखि ९.१३ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधारदर ५.७८ प्रतिशत छ। बैंकले आधार दरमा न्यूनतम १ देखि ४.५० प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ । बैंकबाट करिब ६ देखि १०.२८ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ ।
नबिल बैंकले न्यूनतम ७.५८ प्रतिशत देखि करिब ८.८३ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ । बैंकको आधार दर ५.८३ प्रतिशत छ ।
कृषि विकास बैंकको आधार दर ५.८७ प्रतिशत छ। बैंकले अधिकतम २.५ प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ। करिब ८.३७ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ ।
ग्लोबल आइएमई बैंकको आधार दर ५.७६ प्रतिशत छ । बैंकले १.५ देखि ३.५ प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ । करिब ७.२६ देखि ९.२६ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ ।
सानिमा बैंकले न्यूनतम ७.५० प्रतिशत देखि करिब ८.५० प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ ।
माछापुच्छ्रे बैंकले न्यूनतम ६.८० प्रतिशत देखि करिब १०.३ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ । बैंकको आधार दर ६.३० प्रतिशत छ ।
एनएमबी बैंकले न्यूनतम ६.७२ प्रतिशत देखि करिब १०.२२ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ । बैंकको आधार दर ६.२२ प्रतिशत छ ।
सिद्धार्थ बैंकले न्यूनतम ९.३४ प्रतिशतदेखि करिब ११.३५ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ ।
नेपाल एसबीआइ बैंकले ६.५४ प्रतिशतदेखि १२ प्रतिशत ब्याजदरमा, सिटिजन्स बैंकले ९.३५ प्रतिशतसम्म ब्याजदरमा यस्तो कर्जा दिइरहेका छन् ।
हिमालयन बैंकको आधार दर ६.५७ प्रतिशत छ। बैंकले ०.५० देखि २.५० प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ ।
त्यस्तै, प्रभु बैंकको आधार दर ६.६६ प्रतिशत छ । बैंकले २ देखि ४.५० प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ ।
लक्ष्मी सनराइज बैंकको आधार दर ६.५२ प्रतिशत छ । बैंकले १ देखि ३ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ ।
कुमारी बैंकको आधार दर ६.६२ प्रतिशत छ । बैंकले २ देखि ४ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकको पनि आधार दर ६.६२ प्रतिशत छ । बैंकले अधिकत ५ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ ।
एनआइसी एशियाको बेसरेट सबैभन्दा धेरै ७.१७ प्रतिशत छ । बैंकले करिब ९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिइरहको छ । स्ट्याण्डर्ड चार्टर्डले भने सवारी कर्जा दिने गरेको छैन ।
