काठमाडाैं । शहीद मानबहादुर स्मृति प्रतिष्ठानले दक्षिणकाली नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई)-२०८१ मा उत्तीर्ण विद्यार्थी तथा विद्यालयहरूलाई सम्मान गरेको छ ।
एक विशेष कार्यक्रमकाबीच विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै उत्कृष्ट नतिजा ल्याउने ६ विद्यालयहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र (बागमती प्रदेश) का अध्यक्ष माननीय सरल सहयात्री पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सांसद पौडेलले एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै प्राप्त अङ्कका आधारमा नभई थप मिहिनेत गरेर जीवनमा सफल बन्न आग्रह गर्नुभयो । कम जिपिए ल्याउने विद्यार्थीले पनि अबको दुई वर्ष कडा मिहिनेत गरेर नतिजा सुधार्ने मौका भएकोले निराश नभई अघि बढ्न र आफ्नो छनोट को विषय अध्ययन गर्न सुझाब दिनुभयो ।
प्रतिष्ठानले एसईई उत्ती र्ण ३१७ विद्यार्थी , १७ विद्यालयका प्रधानाध्यापक र यस वर्षको एसईईमा उत्कृष्ट तथा शतप्रतिशत नतिजा ल्याउन सफल ६ वटा विद्यालयहरूलाई विशेष सम्मान गरिएको थियो । काठमाडौं जिल्लाका ११ पालिकाका २० सामुदायिक विद्यालय मध्ये ४ विद्यालय दक्षिणकाली नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालय छन्।
