पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ । बर्खायाममा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त रूटमा नियमित उडान भर्दै आएको तारा एयरलाइन्सको ट्वीनअट्टर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिनुभएको छ । उहाँका अनुसार तारा एयरलाइन्सले आगामी सेप्टेम्बरको पहिलो साताबाट पुनः उडान सञ्चालन गर्नेछ ।

‘हवाई यात्रु घटेको र मौसम प्रतिकूल भएको कारणले तारा एयरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ सिजन सुरू भएपछि उडान फेरि सुरू हुन्छ,’ इन्चार्ज लालचनले बताउनुभयो ।

समिट एयरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि दुई महिनाका लागि उडान बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

‘हाल यस रूटमा दैनिक एउटा मात्रै उडान भइरहेको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,’ इन्चार्ज थकालीले बताउनुभयो ।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार मनसुन सुरू भएसँगै हवाई यात्रु घटेका छन् । उहाँका अनुसार तारा एयरलाइन्सले उडान स्थगित गरिसकेको छ भने समिट एयरलाइन्सले पनि केही दिनमै उडान स्थगित गर्ने जानकारी दिएको छ ।

बर्खायाम सुरू भएसँगै हवाईमार्ग मात्र होइन, सडकमार्गबाट जोमसोम आउने यात्रुको सङ्ख्या पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *