सन्तोष रूचाल, धनकुटा । कोशी पहाडमा पहिलो पटक सार्वजनिक यातायातमा टाईम कार्ड सुरू गरिएको छ । पछिल्लो समय सवारी साधन बढेसगै दुर्घटना समेत बढेको भन्दै प्रहरीले आजदेखि टाईम कार्ड लागु गरेको हो ।
धनकुटा नगरपालिका धनकुटाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको समन्वयमा टाईम कार्ड सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरद कुमार थापा क्षेत्रीले बताउनुभयो ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रूम्दाली राईले एक कार्यक्रमका बीच आज टाईम कार्डको सुरूवात गर्नुभएको छ । टाइम कार्ड कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष राईले टाईम कार्डले सवारी दुर्घटनाको न्युनीकरणसँगै सडक अनुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरू भएको टाइम कार्ड मुलघाट, धनकुटा बजार, हिलेबजार, सिधुवा बजार, पाख्रीवास बजार तथा लेगुवा बजार लगायतका स्थानमा टाईम कार्ड लागु गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।
भेडेटारबाट सुरू भएको टाइम कार्ड मुलघाटसम्म १७ किलोमीटरलाई ४० मीनेट, मुलघाटबाट धनकुटा बजारसम्म १८ किलोमीटरलाई ४० मीनेट, धनकुटाबाट हिलेसम्म १३ किलोमीटरलाई ३० मीनेट, हिलेदेखि लेगुवासम्म २६ किलोमीटरलाई ५५ मीनेट र हिलेदेखि सिंधुवाबजारसम्म १२ किलोमीटरलाई २५ मीनेटको समय तोकिएको छ ।
कोशी प्रदेशको पहाडी रूटमा टाइम कार्ड धनकुटामा पहिलो पटक लागु गरिएको हो । कोशी लोकमार्ग अन्तर्गत धरानबाट भेडेटार, धनकुटा, हिलेहुदै भोजपुर, संखुवासभा, तेह्रथुम लगायतका पहाडी जिल्लामा दैनिक हजारौ साना तथा ठूला सवारीसाधनहरू आवत जावत गर्ने गर्दछन् । टाईम कार्ड लागु भएसँगै सवारी दुर्घटनामा न्यूनिकरण आउने विश्वास रहेको प्रजिअ पोखरेलले बताउनुभयो ।
