धनकुटाबाट लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ

सन्तोष रूचाल, धनकुटा । धनकुटाबाट लागु औषध गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । फरक–फरक तीन वटा गाँजा मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका सहिदभूमि गाउँपालिका–६ आँखिसल्लाका ३८ वर्षीय डम्बर राई पक्राउ परेका हुन् ।
उनलाई बुधवार साँझ कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–६ बाघेखोलाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । फरार अभियुक्त नियन्त्रण गर्न खटिएको विशेष टोलीले प्रदेश १–०६–००१ च ००१८ नम्बरको कारमा धरानबाट धनकुटातर्फ आफ्नै कारमा आउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
२०८० चैत २५ गते साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट को १ ख ३२९४ नम्बरको मिनीट्रकमा १८ बोरामा पाँच सय ४४ केजी गाँजा ओसार पसारमा राई संम्लग्न भएको पाइएको छ । त्यस्तै २०८० बैशाख २९ गते मुलघाटमा को १ ख ३३६७ नम्बरको मिनीट्रकमा लोड भएको १७ बोरामा पाँच सय १० केजी र उनले सहिदभूमि गाउँपालिका–६ मार्गास्थित फर्निचर व्यवसायको टहरोमा दुई केजी गाँजा प्रहरीले बरामद गरेको थियो । सोही आरोपमा उनलाई पक्राउ पुर्जी अदालतबाट जारी भएको थियो । उनलाई आजै जिल्ला अदालत हाजिर गराएर म्याद थप गरी अनुसन्धान बढाईने प्रहरीले बताएको छ । यसैबीच आज विहान साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट लागु औषध गाँजा १० केजी प्रहरीले बरामद गरेको छ । धनकुटाबाट झापाको विर्तामोडतर्फ जार्दै गरेको प्र १–०२–००१ ज ४५२७ नम्बरको इभी गाडी चेकजाँच गर्ने क्रममा गाँजा फेला पारिएको थियो ।
उक्त गाँजा कुन व्यक्तिको हो भन्ने कुरा खुल्न नसकेपछि गाडी र गाडी चालक धनकुटा नगरपालिका–९ बेलहाराका २० वर्षीय बालकृष्ण मगरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू गरिएको डिएसपी खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *