काठमाडौं । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने नाराका साथ नेपाल छाला जुत्ता उत्पादक संघको १४औँ वार्षिक साधारणसभा त्रिपुरेश्वरस्थित ए क्याफे सभाहलमा आइतबार भव्यताका साथ सम्पन्न भएको छ ।
साधारणसभामा सरकारी प्रतिनिधिहरू, संघका पूर्व पदाधिकारी तथा सल्लाहकारहरू, वर्तमान कार्यसमिति, सदस्यहरू, कच्चा पदार्थ आपूर्तिकर्ता, पेशागत व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति थियो ।
संघका अध्यक्ष हरिराम बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सल्लाहकार रिबन मंग्रातीले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष दिलकुमार बिशुन्खेले स्वागत मन्तव्य राख्नुभएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको सो कार्यक्रममा बागमती प्रदेश सरकारअन्तर्गत उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंका प्रमुख यादवनाथ आचार्य विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । संघका महासचिव बिधान बोगटीले संस्थाको संक्षिप्त परिचय र उपलब्धिबारे प्रकाश पार्दै उद्घाटन मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्षहरूले जुत्ता उद्योगको उज्ज्वल भविष्यका लागि सोच, नीति र बजारको सही तालमेल अपरिहार्य रहेको औँल्याउनु भएको थियो ।
संस्थापक अध्यक्ष रामहरी तोलांगेले परम्परागत पेशाकर्मीबाट उद्यमी बन्न आह्वान गर्दै व्यावसायिक सोच र आधुनिकीकरणको आवश्यकतामा जोड दिनुभयो भने पूर्व अध्यक्ष जीवन नेपालीले MRP को बहस उठाउँदै स्थायी प्रदर्शनी कक्षको माग गर्नुभयो र सरकारी नीतिगत सहयोग तथा पूर्वाधारको आवश्यकतामा जोड दिनुभयो ।
अर्का पूर्व अध्यक्ष बाशु रोक्काले ८०% नेपाली जुत्ताको बजार हिस्सा ठूलो अवसर भएको बताउँदै स्वदेशी उत्पादनको विशाल सम्भावना र आत्मनिर्भर अर्थतन्त्रको आधारमाथि प्रकाश पार्नुभयो । सल्लाहकार केशव बिशुन्खेले सबै सरोकारवालाहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि यादवनाथ आचार्यले पेशाको पुस्तान्तरण महत्वपूर्ण चुनौती भएको औँल्याउँदै नयाँ पुस्तालाई पेशामा आकर्षित गर्न र यस क्षेत्रले भोग्दै आएका जटिलतालाई सम्बोधन गर्न प्रदेश सरकारले संघलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि उमेश सिंहले यो परम्परागत पेशाको महत्वमाथि जोड दिँदै यसमा संलग्न सबैले गर्व गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संघलाई ‘लावारिस’ नछाड्ने र यसको संरक्षण तथा प्रवर्द्धनका लागि दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभाका अध्यक्ष हरिराम बोगटीले उपस्थित सबैलाई धन्यवाद दिँदै उद्घाटन सत्रको औपचारिक समापन गर्नुभएको थियो ।
साधारणसभाको बन्द सत्रमा संघका कोषाध्यक्षले वार्षिक प्रतिवेदन र अध्यक्ष हरिराम बोगटीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनमाथि छलफल गरी सुझाव संकलनपश्चात् निर्णयहरू पारित गरिएका थिए । संघका सल्लाहकार राजकुमार अछामीले संचालन गर्नु भएको सो सत्रको उतरार्धमा अध्यक्षले वर्तमान कार्यसमिति भंग भएको घोषणा गर्दै निर्वाचन मण्डललाई सभा सुम्पना साथ नयाँ कार्यसमिति चयन प्रक्रिया अगाडि बढाइएको थियो । सर्वसम्मतिमा सोही नेतृत्व दोस्रो कार्यकालका लागि निर्वाचित भई १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष: हरिराम बोगटी
वरिष्ठ उपाध्यक्ष: दिलकुमार बिशुन्खे
उपाध्यक्ष: लक्ष्मण मंग्राती
महासचिव: बिधान बोगटी
सचिव: कुमार मंग्राती
सह–सचिव: सान्बाबू बोगटी
कोषाध्यक्ष: प्रमेश बिशंखे
सदस्यहरू: योगेश कुमार नेपाली, राजन रम्तेल, राजु नेपाली, रामकुमार तोलाङे, रोशन पुर्कोटी (१ जना पछि मनोनीत गरिने)
नवनिर्वाचित अध्यक्षले छाला जुत्ता उद्योगको संस्थागत विस्तार र व्यवसायीको हितमा अझ सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । संस्थापक अध्यक्षहरू र पूर्व सल्लाहकारहरूले संस्थागत हितका लागि विभिन्न सुझावका साथ शुभकामना व्यक्त गर्दै नेपाली छाला जुत्ता उद्योगको बजार विस्तार, गुणस्तर सुधार, र नवीन प्रविधिको उपयोगमा जोड दिए ।
सभाले छाला जुत्ता उद्योगको विकासका लागि ठोस योजना र सहकार्यको आधार तय गरेको छ । नवनिर्वाचित कार्यसमितिले नेपाली ब्रान्डको प्रवर्द्धन, बजार विस्तार, र उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । सभाको समापनमा उपस्थित सबैले नेपाली छाला जुत्ता उद्योगको उज्ज्वल भविष्यप्रति आशा र उत्साह व्यक्त गरे ।



