सन्तोष रूचाल, धनकुटा । विश्व वातावरण दिवसको अवसरमा धनकुटा नगरपालिका–४ स्थित सिमसार क्षेत्रमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गरिएको छ ।
डिभिजन वन कार्यालय धनकुटा र पाख्रीवास नगरपालिका धनकुटाको संयुक्त आयोजनामा आज विहान वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको हो । पाख्रीवासको सिमसार क्षेत्रमा विभिन्न प्रजातिका फलफुल तथा फुलका विरूवाहरू रोपिएको छ ।
स्वच्छ र सफा वातावरण निर्माण गर्ने उद्देश्यले सरसफाईसँगै गुराँस, दाँते ओखर, विरेन्द्र फुल, चाँप र गुलमोहर लगायतका प्रजातिको विरूवा रोपण गरिएको थियो ।
वृक्षरोपण कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, पाख्रीवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरदकुमार थापा क्षेत्री, डिभिजन वन कार्यालय धनकुटाका प्रमुख संजिवराज ढकाल, नेपाली सेना भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका सेनानी मन्दीप राई, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका डिएसपी मदन नाथ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रूद्रबहादर गुर्वछान, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरू, समाजसेवी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
