सन्तोष रूचाल, धनकुटा । जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरू भएको छ । कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले एक कार्यक्रमका बीच हेमोडायलाइसिस सेवाको शुभारम्भ गर्नुभएको छ ।
हेमोडायलाइसिस सेवाको शुभारम्भ गर्दै मन्त्री राईले सबै पक्षबीच समन्वय गरेर सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । जिल्ला अस्पताल धनकुटालाई १०० शैया विस्तारको लागि कोशी प्रदेश सरकार सकारात्मक रहेको मन्त्री राईले बताउनुभयो । उहाँले भन्नुभयो–‘धनकुटा अस्पतालमा सघन उपचार कक्ष (आइसियू) पहिले नै स्थापना गरिएको भएपनि सञ्चालनमा नरहेकाले तत्काल सञ्चालनमा ल्याउने घोषणा गर्नुभयो ।’ कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा.राधिका थपलियाले धनकुटा अस्पतालमा सेवा सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पछिल्लो समय धनकुटामा मृगौला रोगीहरूको संख्या बढ्दै गरिएकाले डायलाईसिस सेवाको लागि सुविधा सम्पन्न ठूला शहरहरूमा जानु पर्ने बाध्यता थियो । तर धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू भएसँगै विरामीहरूलाई अन्यत्र जानु पर्ने बाध्यता हटेको जिल्ला अस्पताल धनकुटाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष राईले बताउनुभयो । डाइलाइसिस सेवाको उपकरण धनकुटा अस्पतालमा ल्याएको दुई वर्ष भएको थियो । अब धनकुटा अस्पतालमा डाइलाइसिस सेवा सुरू भएसँगै छिमेकी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम लगायतका विरामीहरू लावान्वित हुने छन् ।
हेमोडायलाइसिस सेवाबाट हप्तामा १२ जना विरामीलाई सेवा दिने सकिनेछ । दुई सिफ्टमा सेवा सञ्चालन गर्दा २४ जनासम्म विरामीलाई सेवा प्रवाह गर्न सकिने जिल्ला अस्पताल धनकुटाले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले दक्ष जनशक्ति अभावमा अस्पतालले दिने सम्पूर्ण सेवाहरू चुस्तदुरूस्त दिन कठिन रहेको उल्लेख गर्नुभयो । उहाँले जनशक्तिको व्यवस्थापनमा सहयोग गर्न स्वास्थ्य मन्त्रीलाई आग्रह समेत गर्नुभयो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा अस्पतालमा डाइलाइसिस सेवा सुरू भएसँगै नगरवासीहरूले सहज ढंगले स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । स्वास्थ्य, शिक्षा जस्ता सेवा मानिसको अतिआवश्यक सेवा अन्तरगत रहेकाले प्रदेश सरकारले यस्ता विषयलाई प्राथमिकता दिनु पर्ने सुझाव प्रमुख तामाङले दिनुभयो ।
