बागलुङ । पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।
विद्यालयको दृष्टिविहीन छात्रवास (होस्टल) मा बस्दै आएका कक्षा ११ अध्ययनरत बागलुङको काठेखोला गाउँपालिका–७ सेराका २० वर्षीय छात्र यामबहादुर कार्की बुधबार बिहान मृत फेला परेका हुन् ।
पुरूष छात्रवासमा रहेका उनी बिहान अबेरसम्म पनि ढोका खोलेर बाहिर ननिस्केपछि खोजी गर्ने क्रममा मृत भेटिएका हुन् । विद्यालय बन्द भएकाले अन्य विद्यार्थी भने घर गएका थिए ।
छात्रवासको मुख्य ढोकाको चुकुल खोलेरभित्र पस्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयाे ।
मृतकका आफन्तलाई बागलुङबाट बोलाएर छात्रवासबाट शव परीक्षणका लागि प्रदेश अस्पताल पर्वतमा लगेर राखिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयाे ।
