काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको क्रममा निजी घरमा आगजनी गरेको घटनाको अनुसन्धानमा संलग्न व्यक्तिहरूको पहिचान खुलेको छ ।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन गर्दा आगो लगाउँदै गरेका युवाहरू प्रदर्शनका कमान्डर विवादित व्यवसायी दुर्गा प्रसाईंकै कमान्डमा तीनकुनेमा सहभागी हुन आएका प्रदर्शनकारी भएको पुष्टि गरेको हो ।
घटनामा परेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । राजतन्त्र पुनःस्थापनाका अभियान संयोजक नवराज सुवेदीले भने घटनामा घुसपैठ भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । सुवेदीले भने, ‘‘अराजक गतिविधि हाम्रो पक्षबाट भएको होइन । छानबिन भयो भने सत्य बाहिर आउँछ । सरकार किन चुप छ ?’’
प्रहरीका अनुसार पक्राउ परेका रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछाम पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही एटीएफका सक्रिय सदस्य हुन् ।
तर आगजनी गर्दै गरेको भिडिओमा देखिएका युवाहरू राजतन्त्रको लागि अभियान चलाउँदै आएको ‘एनी टाइम फोर्स’ (एटीएफ) मा आवद्ध भएका युवाहरू रहेको खुलेको छ । एटीएफका संयोजक भने धादिङका सन्तोष कुमार सिलवाल उर्फ राजावादी हुन् ।
आगजनीमा संलग्नमध्ये रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षका सरोज गौतम र अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही पक्राउसमेत परिसकेका छन् । उनीहरू दुवैजना एटीएफका सदस्य रहेको र अनुसन्धान अझै जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिनुभयाे ।
परिसरका एसपी अपिल बोहराका अनुसार गौतम एटीएफका प्रवक्ता र शाही सदस्य रहेको खुलेको हो । दुवैजना एटीएफका सदस्य रहेको पुष्टि भएको र आगो लगाउँदै गरेको भिडिओसमेत उनीहरूकै समूहका अर्का व्यक्तिले खिचेको भेटिएको एसएसपी अधिकारीले बताउनुभयाे ।
‘‘भिडिओसमेत उनीहरूकै समूहले खिचेको देखिन्छ । भिडिओ खिच्ने व्यक्तिलाईसमेत हामीले नियन्त्रणमा लिइसकेका छौँ,” एसएसपी अधिकारीले भन्रुभयाे ।
उनीहरू दुवैजना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रहरीका अनुसार तीनकुनेको उक्त घरमा आगजनी हुनुपूर्व उनीहरू दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्न प्रहरीलाईसमेत किच्नेगरी चलाएको गाडीमासमेत बसेको पाइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएर दुर्गासहित सबै प्रदर्शनकारीलाई फिर्ता पठाएपछि भने उनीहरूले निजी घरमा आगजनी गर्न थालेका हुन् । प्रहरीको अनुसन्धानका क्रममा एटएफका कमान्डर सन्तोष राजावादी भने अझै फरार छन् । सन्तोषले केही वर्ष अघिदेखि नै यो समूह निर्माण गरेका हुन् ।
यो बाहेक प्रदर्शनमा दुर्गा प्रसाईंको पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) समेत सहभागी थिए । यसरी नै पशुपति खड्काको हिन्दु युवा संघ र रोयल टाक्स फोर्स समेत सहभागी थिए । तीनकुनेको प्रदर्शन सुरूमा अराजक गर्न खोज्ने पनि सन्तोष राजावादी र पशुपति खड्काकै समूह रहेको प्रहरी दाबी छ ।
पशुपति पक्राउ परे पनि सन्तोष राजावादी भने अझै फरार छन् । सन्तोष राजावादीले २०८० जेठमा नेकपा एसका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहभागी कार्यक्रममा खनाल बोल्दाबोल्दै अभद्र व्यवहार गरेका थिए ।
त्यो बेला खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि सिंहासनको सपना नदेख्न, बरू राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका थिए । त्यही विषयलाई लिएर खनालको कार्यक्रम विथोल्न सन्तोष राजावादी समूह अनामनगर पुगेका थिए ।
उक्त कार्यक्रममासमेत आगजनी गर्ने गौमत र शाही दुवैजना सहभागी थिए । त्यो बेलासमेत सन्तोषसँगै उनीहरू सात जना पक्राउ परेको खुलेको छ ।
प्रहरीले तीनकुने प्रदर्शनमा अराजकता मच्चाएर भाग्ने कमान्डर दुर्गा प्रसाईंलाई झापाबाट पक्राउ गरिसकेकाे छ । यसरी नै चैत १५ गते नै प्रहरीले प्रदर्शन अराजक गराउन भूमिका खेलेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणासहितका ८२ जनालाई मुद्दा चलाएको छ ।
अझै सन्तोष राजावादीसहित दर्जनौँ फरार छन् । उनीहरूकोसमेत खोजी तीव्र पारिएको छ । पक्राउ परेका माथि प्रहरीले संगठित अपराध, राज्यविरूद्धको कसुरमा अनुसन्धान थालेको छ । दुर्गा प्रसाईंमाथि भने ज्यान मुद्दा, समाजिक उपद्र र आगजनीलगायतका मुद्दा पनि चलाउने गृहकार्य प्रहरीको छ ।
बाह्रखरी
