छोरीको विवाह आइसक्यो, आफैले राखेको पैसा पनि दिँदैन सहकारीले !

लुम्बिनी । यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैहुनुहुन्छ  ५५ वर्षीय मादिका लोनिया । तर उहाँको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा संकलन गरेको छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा हुनुहुन्छ ।

सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ । कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ ।

सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ । छोरीको विवाह यही वैशाखमै जुरेको छ । तर सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उहाँ पनि असहाय बन्नुभएकाे छ । ‘आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन,’ उहाँले भन्रुभयाे ।

सोही वडामा नन्दलाल चौहानका पिता बुद्धु चौहानले आफ्नो पेन्सनको ५० हजार पनि सोही सहकारीमा राख्नुभएकाे थियाे । नातिनीको विवाह खर्चका लागि त्यो रकम निकाल्ने उहाँले योजना बनाउनुभएकाे थियाे । ‘अब त्यो योजना पनि अधूरो रहने देखिन्छ,’ उहाँले भन्नुभयाे ।

छोटेलाल लोहार, असुरैनाका बासिन्दा, छोरीको विवाहका लागि आफन्तकहाँ सहयोग मागे । तर अधिकांश आफन्तको जवाफ एउटै छ, ‘आफैलाई अभाव छ, सहकारीमाथि विश्वास गरेर जम्मा गरेको पैसा नै यस्तो बेलामा फिर्ता नपाउँदा गहिरो चोट लागेको छ ।’
फलफूल व्यवसायी विनोद बर्माले छोरीको विवाहका लागि भन्दै एक वर्षदेखि दैनिक पाँच सयका दरले बचत गर्नुभएकाे थियाे । अब विवाह नजिकिँदै गर्दा उहाँले राख्नुभएको पैसा पनि अनिश्चित बनेको छ ।

यही २०८१ फागुन २६ गते उक्त सहकारी संस्थाका व्यवस्थापक र कार्यालय सहायकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद सुरू भयो । विवाद अदालतसम्म पुगेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले कारण देखाऊ र निलम्बनको निर्णय यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ । परिणामस्वरूप, बचत फिर्ता पाउने, ऋण लिने र सावाँब्याज तिर्नेलगायत सबै सेवा ठप्प छन् ।

गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र मुराउले भन्रुभयाे, ‘मुद्दा अदालतमा विचाराधीन छ । जबसम्म अदालतको निर्णय हुँदैन, सेवाहरू पुनः सञ्चालन गर्न सकिने अवस्था छैन । सहकारीको सेवामा अवरोधले सयौं बचतकर्तालाइ अप्ठ्यारोमा पारेको छ । यसले आर्थिक संकटमात्र होइन, सामाजिक र मानसिक तनाव पनि बढाएको छ । सहकारी संस्थाको सेवा बन्द हुँदा गाउँको जनजीवन प्रभावित भएको छ । विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत अहिले बन्द ढोकामै थुनिएको छ ।’

सम्मरीमाई–६ का वडाध्यक्ष तौलन केवटले सहकारीको सेवा प्रवाह पुनः सुरू भएन भने सहकारीप्रतिको जनविश्वास नै सधैंका लागि हराउन सक्छ भने ।

बचतकर्ताको एउटै प्रश्न छ, ‘जब हामीले विश्वास गरेर बचत गरेका थियौं, त्यसले आपतमा साथ नदिएपछि केही बाँकी रहँदैन । सहकारीको नियमन गर्ने निकाय, सम्बन्धित पालिका र अदालतसमेतले अब गम्भीरतापूर्वक हस्तक्षेप नगर्ने हो भने केवल आर्थिक संकटमात्र होइन, सामाजिक संकटको भय पनि बढ्दै जान्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *