नयाँ वर्षदेखि अब बेलुका ८ बजेसम्म खुल्नेछ सदर चिडियाखाना

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।चिडियाखानाद्वारा आज आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार वैशाख १ देखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयाे ।

‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ,’ उहाँले भन्रुभयाे । चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।

चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयाे । यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको पनि उहाँले बताउनुभयाे ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको संवर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयाे । आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनःरूत्थान र संरक्षणमा केन्द्रित भएको उहाँको भनाइ थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताउनुभयाे ।

कोषका सदस्य सचिव नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उद्देश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताउनुभयाे । सेवाग्राहीको चाहनाअनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको उहाँले जानकारी गराउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *