काठमाडौं । मंगलबार राजधानी काठमाडौंमा विभिन्न १० स्थानमा हुने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । बल्खु, माइतीघर, रत्नपार्क लगायतका क्षेत्रमा हुने विरोध कार्यक्रमलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सुरक्षानिकायहरूले व्यापक तयारी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा विरोधसभाको आयोजना गर्दैछ । बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालयतर्फको सडक खण्डमा सभा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
उक्त कार्यक्रममा २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गरिनेछ । सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीबीच समन्वय गरी ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिनेछ ।
बल प्रयोग गर्नुपर्ने अवस्था आएमा तीनवटै निकायबीच सहकार्य गर्दै चरणबद्ध रूपमा बल प्रयोग गर्ने रणनीति बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले भन्रुभयाे, “राप्रपा नेतृत्वसँग समन्वय भइरहेको छ, उहाँहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने आश्वासन दिनुभएको छ ।”
उहाँका अनुसार सादा पोशाकका सुरक्षाकर्मीमार्फत सूचनासङ्कलन र तत्काल प्रतिकृया प्रणाली पनि सुदृढ बनाइएको छ । यसैगरी, लघुवित्त पीडितहरूले रत्नपार्कमा र शिक्षकहरूले माइतीघर मण्डलामा प्रदर्शनको आयोजना गरेका छन् । यी दुवै प्रदर्शनलाई लक्षित गरी १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ ।
प्रहरीको आकलनमा यी क्षेत्रका प्रदर्शनहरू शान्तिपूर्ण हुने अपेक्षा गरिएको छ । मुख्य तीन प्रदर्शनबाहेक अन्य ७ स्थानमा समेत मंगलबार विरोध कार्यक्रमहरू तय भएका छन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले लगनखेलमा प्रदर्शन गर्नेछ र त्यसपछि माइतीघरसम्म जुलुस निकाल्नेछ । जनमोर्चाले संघीयता खारेजको माग गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेको छ ।
त्यस्तै, आवासीय चिकित्सक समूह, पिछडावर्ग संघर्ष समिति, जनताको खबरदारी नेपाल लगायतका समूहले विभिन्न मागसहित प्रदर्शनको आयोजना गरेका छन् । जनताको खबरदारी नेपालले मृत्युदण्डको कानुनको माग गर्दै विरोध जनाउने जनाएको छ । राष्ट्रवादी साझा संगठन नेपालकी माया माण्डेले माइतीघरमा राजतन्त्र पुनर्स्थापनाको माग राखेर धर्ना दिइरहेकी छन् । एसपी बोहराका अनुसार सबै प्रदर्शन स्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
