दुई लाख बिरूवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरूवा हुर्काएको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरूवा उत्पादन गरेर हुर्काइएको हो ।

कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरूवा हुर्काइएको हो । त्यसमा जडीबुटी बिरूवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरूवा, बहुवर्षीय बिरूवा रहेका छन् ।

आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरूवा उत्पादन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरूवा जडीबुटीका, १५ हजार बिरूवा डालेघाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरूवा बहुवर्षीय उत्पादन गरी हुर्काइएको छ । आपूर्ति समितिबाट उत्पादित बिरूवाका जात छुट्याउने काम भइरहेको छ ।

यहाँबाट डालेघाँस, ठूला रूखजन्य बिरूवा र बहुउपयोगी बिरूवा उत्पादन हुँदै आएको छ । बहुवर्षीय बिरूवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछ । सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि यी बिरूवा प्रयोग हुने गरेको छ । उहाँले भन्नुभयो, ‘बहुर्षीय बिरूवाले वृक्षरोपणलाई सफल बनाउन सहयोग पुग्छ ।’

अघिल्ला वर्षका बिरूवा कम भएकाले यस वर्ष धेरै बिरूवा उत्पादन गर्न लागिएको पौडेलले बताउनुभयो । गत वर्ष कार्यालयले ९२ हजार बिरूवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरूवा उत्पादन गरिएको थियो । उहाँले भन्नुभयो, ‘असार १५ गतेदेखि वितरण गर्ने गरी बिरूवा उत्पादनको काम भइरहेको छ ।’

कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरूवा उत्पादन गरिरहेको छ । त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, वडहर, टाँकी, कोइरालालगायतका बिरूवा रहेको पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *