सन्तोष रूचाल, धनकुटा । १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८१ आजदेखि धनकुटामा सुरू भएको छ ।
आज भएको उद्घाटन खेलमा आयोजक टीमलाई पराजित गर्दै सप्तरीको नमोवुद्ध युथ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । उद्घाटन खेलमा आयोजक धनकुटालाई ३–१ गोल अन्तरले पराजित गर्दै नमोवुद्ध युथ क्लब सप्तरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
नमोवुद्धको जितमा निर्मल घिसिङ, मेक्सम दास र मोहित गुरुङले एक-एक गोल गर्नुभएकाे थियाे । भने आयोजकको तर्फबाट दिपेन शाक्यले सान्त्वना गोल गर्नुभयाे ।
खेलको म्यान अफ दी म्याच नमोवुद्धका मोहित गुरुङ घोषित हुँदै ५ हजार ५ सय नगद र ट्रफी प्राप्त गर्नुभयाे ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा सुरू भएको प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
भोलिको दोस्रो क्वाटरफाइनल खेल इटहरीको ब्वाइज फुटवल क्लव सुनसरी र गाईघाट फुटवल क्लव उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । २०५५ सालमा सुरू भएको यो प्रतियोगिताको हरेक वर्ष संचालन हुदै आएको छ ।
शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उहाँलाई तत्कालिन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उहाँमो सम्झनामा वर्षैंपिच्छे धनकुटा तल्लो टुँडिखेलमा सहिद भीमनारायण गोल्डकप प्रतियोगिता सञ्चालन हुदै आएको छ ।
