काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
मंगलबार दिउँसो प्रदर्शनकारीहरूले ”कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयप्रति सत्तारूढ नेपाली कांग्रेसकै कतिपय नेताहरू असन्तुष्ट देखिएका छन् । साथै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले पनि यसको खुलेरै विरोध गरेका छन् ।
