बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन् ।

ती बाघलाई दैनिक ५ किलो मासु खुवाउनुपर्ने हुन्छ । कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि चार लाख ३८ हजार बजेट निकासा भएको छ ।

थापामगरका अनुसार एक महिनामा सात वटा बाघलाई दैनिक ५ किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाख दुई हजार ५०० खर्च हुन्छ । साउन र भदौको मासुको भुक्तानी भएको भए पनि त्यस यताको भुक्तानी हुन सकेको छैन ।

बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उहाँले जानकारी दिनुभयाे । निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन् ।

झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो ।

‘हामीसँग खोरमा राखिएका बाघको आहारा र आवश्यक परेमा नियन्त्रणमा लिएर थप बाघ राख्ने ठाउँ छैन,’ उहाँले भन्रुभयाे ।

 बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उहाँले बताउनुभयाे ।

थप बजेटका लागि निकुञ्जले विभागमा पत्राचार गर्ने तयारी गरेको छ ।

बाघ हिंस्रक बनेमा नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क १२८ बाघ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *