जाजरकोट भूकम्प: १४ महिनापछि पुनर्निर्माण प्रक्रिया सुरू

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरू गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ ।

अन्य जिल्लाहरू जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो । डोटीमा गत वर्ष नै क्षति विवरण सङ्कलन गरिएकामा उक्त तथ्याङ्कलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् ।

जाजरकोट र रूकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण सङ्कलन भइरहेको र अब पुनर्निर्माण सुरू हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार  पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको विस्तृत विवरण सङ्कलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ ।

यकिन विवरण सङ्कलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले स्थलगत रूपमा जाजरकोट पुगेर सोमबार पहिलो चरणमा खटिने प्राविधिकलाई तालिम सञ्चालन गरेका छन् ।

उनीहरूले स्थानीय तह, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट खटिएका इन्जिनियरलाई तालिम सञ्चालन गरेका हुन् । रुकुमपश्चिमका लागि पनि टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *