सर्लाही । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ ।
उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयाे ।
विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताउनुभयाे । उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयाे । उहाँले स्थानीय, प्रदेश र संघ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिनुभयाे ।
नगरपालिकाले उद्योगसँग मिलेर उखु किसानको लागि सिँचाइ, प्रविधि र उन्नत बीउविजन उपलब्ध गराउने योजनामा रहेको हरिवन नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयाे ।
