काम गर्नेहरूलाई हावा गफ गर्नेसँग तुलना नगरौं: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका–२९ को वडा भवन शुक्रबार उद्घाटन गर्दै उहाँले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाउनुभयो ।

‘संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘तपाईं हामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुपर्‍यो ! राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गर्नुभएको थियो ।

यसैगरी उहाँले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौं क्षेत्र नम्बर १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *