डढेलोका कारण धुवाँ फैलिएपछि लस एन्जलसका बासिन्दालाई घरभित्रै बस्न आग्रह

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसहरूको ज्यान लिएको भीषण डढेलोपछि लस एन्जलसका बासिन्दाहरूलाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ ।

डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वायुप्रदूषण बढेपछि लस एन्जलस प्रशासनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।

स्थानीय जनस्वास्थ्य निकायले आगो र तीव्र बेगको हावाका कारण वायुको गुणस्तर निकै खराब भएको चेतावनी जारी गरेको छ । जसका कारण जनस्वास्थ्यमा तत्काल देखिने देखि र दिगो जोखिम हुनसक्ने चेतावनीमा उल्लेख छ ।

सहरमा परेको आगोले स्वास्थ्य संस्थाहरूमा समेत क्षति पुर्‍याएका कारण महत्त्वपूर्ण सेवा र स्रोत साधन अवरूद्ध भएको अधिकारीहरूले बताएका छन् ।

प्रशासनले धुलो उडाउने कुनै पनि उपकरण प्रयोग नगर्न निर्देशन दिएको छ । अत्यधिक खरानी र धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिममा रहेका मानिसहरू, बालबालिका र वृद्धवृद्धालाई समस्या हुनसक्ने भन्दै सजग गराइएको छ ।

प्रशासनले मानिसहरूलाई झ्याल र ढोका थुनेर घरभित्रै रहन प्रदूषित वायुलाई घरभित्र प्रवेश गर्न नदिन वातानुकूलनका लागि प्रयोग हुने एअर कन्डिसनर उपकरण प्रयोग गर्न भनेको छ । धुवाँ फैलिएका क्षेत्रमा घर बाहिर निस्कँदा मास्क लगाउन पनि प्रशासनले निर्देशन दिएको छ ।

बीबीसी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *