पर्सा । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।
महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिनुभयाे ।
“बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्ने गरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न/गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशअनुसार अनुरोध छ”, उहाँले भन्रुभयाे ।
त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिनुभयाे ।
