धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने

सन्तोष रूचाल, धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने १२ औँ भेडेटार फुड फेस्टिवल हुने भएको छ । होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्न लागेको हो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फुड फेष्टिबल कोभिड १९ का कारण २०७७ सालमा सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचार प्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा फेस्टिवल आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो ।

पूर्व आउने विदेशी पर्यटकहरूमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकाले उनीहरूलाई पूर्वी नेपाल र विषेश गरी भेडेटारमा आकर्षित गर्न फेस्टिवल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

फुड फेष्टिबलले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सास्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार हुनेछ । फेष्टिबलमा करिब २ करोड बरावरको आर्थिक कारोवार तथा ४० देखि ५० हजार पर्यटक भित्राउने लक्ष्य रहेको होटल एसोसिएसनका अध्यक्ष लिम्बूले बताउनुभयाे ।

तीन दिनसम्म हुने फेस्टिवलमा विभिन्न जाति परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका २५ वटा स्टलहरू राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जनाएको छ । तीन दिन हुने फेष्टिबलमा आगन्तुक पर्यटकका लागि पहिलो दिन पाथिभरा मन्दिर दर्शन, साँगुरीगढी अवलोकन, स्काई व्रीज भ्रमण, नमस्ते झरना भ्रमण र भेडेटार वा नाम्जेमा बास र खानाको गरि २ हजार ५ सय रुपैयाँ प्रति व्यक्तिको प्याकेज र दाेस्रो दिन पनि २ हजार ५ सय रुपैयाँ प्रति व्यक्तिको दरले ध्वजे डाडा सुर्योदय अवलोकन, एसियाको दाेस्रो ठुलो अजङ्गको वरको रूख भ्रमण, राजारानी तालको अवलोकन र वस्नको लागी नाम्जे वा डाडाँवजार होम स्टे र खानाको प्याकेज बनाइएको छ ।

त्यस्तै तेस्रो दिन प्रति व्यक्ति ४ हजार रुपैयाका दरले तमोर रिभर राफ्टिङ्ग, भेडेटार बास र खानाको प्याकेज र प्रति व्यक्ति ८ हजार रुपैयाँका दरले प्याराग्लाइडिङ, भेडेटार बास र खानाको प्याकेज बनाइएको आयोजकले जनाएको छ । फेष्टिबलमा पर्यटकहरूले स्थानीय जातिय परम्परागत खानेकुराहरुको स्वाद लिन हेर्न बुझ्न पाउने, भेडेटारका पर्यटकीय स्थलहरू घुम्ने र मनोरञ्जन लिन सक्ने, साना तथा ठुला होटल व्यावसाय फस्टाउने र पर्यटकहरूको आगमन वढ्ने र भेडेटारमा लगानीको अवसरहरू सृजना हुने आयोजकको लक्ष्य रहेको छ ।

फेष्टिबल प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार, भेडेटार आमा समुहको सह आयोजना हुन लागेको हो । फेष्टिबल सफल बनाउन धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका, चौविसे गाउँपालिका र सहिदभुमि गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *