पर्सा । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ ।
चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा २१ अर्ब ८४ करोड ८ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताउनुभयाे ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताउनुभयाे ।
‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरूरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन,’ उहाँले भन्रुभयाे ।
त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार १२६ किलोलिटर पेट्रोल आयात भएको थियो ।
