रामेछापको सुन्तलाले पाएन बजार

मन्थली । रामेछापमा सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् ।

मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार ८ सय रोपनी जग्गामा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयाे ।

आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको उहाँले बताउनुभयाे ।

अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको बताउनुहुन्छ ।

‘विगतका वर्षमा बगैँचाबाटै प्रतिकिलो सुन्तला एक सय रूपैयाँमा बिक्री वितरण हुने गरेको थियो, यस वर्ष भने प्रतिकिलो ७५ देखि ८० रूपैयाँमै दिनुपर्ने बाध्यता छ । के गर्नु उत्पादन गरे पनि बजार नभएपछि,’ उहाँले भन्रुभयाे ।

मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन् । यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन् । यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउँछ ।

यसवर्ष यस वडाबाट करिब दुई करोडको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यस पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटनाशक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो । बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको स्थानीय कृषकको गुनासो छ ।

‘हामीले वर्षभरि मेहनत गरेर उत्पादन गर्छौं, त्यसको प्रतिफल पनि राम्रै छ तर बजार नभएकाले लागतअनुसार मूल्य पाएनौँ । यसरी त सधैँ व्यवसाय हुँदैन । त्यसैले सरकारले नै हामीलाई सहयोग गर्न आवश्यक छ,’ स्थानीय किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *