पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापितहरू

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारूङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो ।

गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारूङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्‍यो ।

पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारूङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे ।

पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ ।

पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थाकथलोमा फर्किन थालेको स्थानीयवासी सुकबहादुर तामाङले बताउनुभयाे ।

‘पहिरोले गाउँले सबै तितरवितर भएका थिए,’ उहाँले भन्रुभयाे, ‘अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्, यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ ।’

जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरूङले जानकारी दिनुभयाे ।

पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गरेकाहरू अहिले गाउँमै फर्किएको उहाँको भनाइ छ । अहिलेसम्म पहिराले विस्थापित भएका छ घरपरिवार गाउँ फर्किसकेको गुरुङले जानकारी दिनुभयाे ।

‘पहिरोले गाउँ नै लैजान थालेपछि परिवार नै गाउँ छाडेर बसाइँ सरेका थियौँ । नजिक बस्ने ठाउँ थिएन, घरवरपर जताततै पहिरोको त्रासले झण्डै चार वर्ष चितवनमा गएर बसे पनि पहिरो रोकिएपछि गाउँ फर्किएका छौँ,’ पहिरोबाट विस्थापित भएका स्थानीय शेरबहादुर गुरुङले भन्रुभयाे ।

पहिरो नियन्त्रण भएसँगै गाउँमा ढुक्कले बस्नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्ण रूपमा रोक लगाएका छन् ।

पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आयआर्जन गर्ने लक्ष्यसमेत लिएको उहाँको भनाइ छ ।

गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महसुस गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *