काठमाडौं । कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान जारी राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार जिल्ला अदालतमा भएको इजलासपछि अदालतले रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।
कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयाे ।
मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरूमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा म्याद थप गरेको छ ।
काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
