मकवानपुरमा डेंगी संक्रमित बढ्दै
बागमती । पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेंगी संक्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरूष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेंगी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीमध्ये हेटाैँडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेंगी संक्रमित फेला परेका छन् । डेंगी संक्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेंगी संक्रमित भएका थिए । गर्मी मौसम सुरू भएसँगै डेंगी संक्रमित अझै बढ्नसक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरू गर्न लागिएको प्रमुख मिजारको भनाइ छ ।