काठमाडौं । स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर चलाइएका ४०१ वटा बुलेट मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पछिल्लो एक सातामा ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन्। केही मोटरसाइकलले साइलेन्सरबाट आगोका झिल्कासमेत निकाल्ने गरेको पाइएको छ।
चर्को आवाज र सडकमा स्टन्ट गर्ने प्रवृत्तिले अन्य सवारीचालक तथा यात्रुलाई समस्या परेको भन्दै प्रहरीले कारबाही अघि बढाएको हो। यस्ता गतिविधिले बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा असर पार्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाउने एसपी सुवेदीले बताउनुभयो।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई कम्पनीले तोकेको स्वरूपमा फर्काएर जरिवाना तिरेपछि मात्र चालकलाई फिर्ता गरिने प्रहरीले जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको स्वरूप परिवर्तन गर्न पाइँदैन।
