बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
डडेल्धुराबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार साँझ मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा दुर्घटनामा परेको हो । पाटन–पञ्चेश्वर सडकखण्डमा गुडिरहेको जिप अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले जानकारी दिनुभयाे । गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा जिप चालक सन्तोष राम लुहारसहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिंह मङ्गोला र सुनिल बस्केल रहेका छन् ।
घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
