काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र नेकपा एमाले एउटै हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे छ । उहाँले विचार, इतिहास र राजनीतिक कार्यशैलीमा दुई पार्टीबीच भिन्नता रहेको स्पष्ट पार्दै तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको बताउनुभएकाे छ ।
दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भ्रष्टाचारविरूद्ध लड्ने पार्टी र भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी एउटै हुन नसक्ने जिकिर गर्नुभयाे ।
उहाँले आफ्नो पार्टी र एमाले एउटै हुन् भन्ने भाष्य देशभित्र मात्र नभई बाहिरसमेत निर्माण गर्न खोजिएको दाबी गर्नुभयाे । तर, दुवै पार्टीको राजनीतिक दृष्टिकोण र कार्यशैली फरक रहेको उहाँको भनाइ थियो ।
विगतमा नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको गठबन्धनलाई राजनीतिक दुर्घटनाको पूर्वसंकेतका रूपमा आफूहरूले व्याख्या गरेको स्मरण गर्दै प्रचण्डले पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु संसदीय लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयाे ।
‘पहिलो र दोस्रो पार्टी मिलेर गठबन्धन बनाउनु संसदीय लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण हो । त्यसले देशमा दुर्घटना निम्त्याउँछ भनेका थियौँ, निम्त्याई पनि हाल्यो,’ उहाँले भन्रुभयाे ।
प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी भ्रष्टाचारविरूद्ध संघर्ष गरिरहेको दाबी गर्दै भ्रष्टाचारविरूद्ध लड्ने र भ्रष्टाचारलाई संरक्षण गर्ने राजनीतिक शक्ति एउटै हुन नसक्ने बताउनुभयाे ।
‘एउटा भ्रष्टाचारका विरूद्ध लडेको पार्टी हो, एउटा भ्रष्टाचारलाई संरक्षण गर्ने । एउटै हुन सक्दैन भन्ने तपाईँहरूलाई राम्रोसँग थाहा छ,’ उहाँले भन्रुभयाे ।
राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र राष्ट्रिय संकटसँग जोडिएका विषयमा भने आफ्नो पार्टी विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयाे । आवश्यकताअनुसार राजनीतिक शक्तिहरूसँग मिलेर अघि बढ्न सकिने भए पनि त्यसलाई पार्टी एकीकरणका रूपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।
‘मिल्न डराउँदैनौँ भन्नुको अर्थ सबै कुरा मिल्यो भन्ने होइन, पार्टी नै एउटै हुन्छ भन्ने कुरा होइन । अहिले तत्काल एमालेसँग पार्टी एउटै हुने सम्भावना छैन,’ प्रचण्डले स्पष्ट पार्नुभयाे ।
