दसैँमा नयाँ लुगा नलाई चित्तै बुझ्दैन

काठमाडौं । बडादसैँलगायत चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट घर फर्कनेक्रमसँगै लत्ताकपडासहित घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भिड लागेको छ ।

दसैँ, तिहार र छठलगायत महत्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारमा किनमेल गर्नेको भिडभाड बढेको हो । विगतमा झैँ अहिले काठमाडौंको मुख्य व्यापारिक क्षेत्र, सपिङ मल, डिपार्टमेन्टल स्टोर तथा स्थानीय पसलमा ग्राहकको आवागमन बढेको छ ।

रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिस चाडपर्व मनाउन घर फर्कने तयारीमा जुटेका छन् । नयाँ लुगा लगाउने रहरले गुल्मी घर भएकी जानकी ज्ञवालीलाई काठमाडौंको न्युरोडमा पुर्‍याएकाे छ ।

दसैँका लागि लत्ताकपडा खरिद दसैँमा बजारसम्म पुगेकी ज्ञवालीले भन्रुभयाे, “दसैँमा नयाँ लुगा नलगाए चित्तै बुझ्दैन, सस्तो र राम्रो लुगा खोज्दै छु । दसैँको रमाइलो नै यही त हो ।”

काठमाडौंको बजारमा १०० देखि लाखौँ मूल्यसम्मका सामग्री उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार किनमेल गरिरहेको उहाँको अनुभव छ । “काठमाडौंमा गरिबदेखि धनीसम्म सबैले आफ्नो क्षमताअनुसार सामान किन्नसक्ने बजार छ । यो राम्रो पक्ष हो”, ज्ञावलीले भन्रुभयाे ।

चाडपर्व लक्षित छुट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरेको छ । शङ्खमूल टावरमुनि कपडाको सेल बजार सञ्चालन गरिरहेकी व्यापारी आन्सिका थापाले चिसो मौसम सुरु हुन लागेकाले जाडोमा लगाउने कपडा छुटमा बिक्री गरिरहेको बताउनुभयाे ।

दसैँ, तिहार र छठमा उपत्यका बाहिर जाने आफ्नो पसलका मुख्य ग्राहक रहेको उनको भनाइ छ । दसैँको घटस्थापनादेखि सुरू भएको व्यापार अष्टमीसम्म मानिसको चहलपहल हुने गरेको थापाले बताउनुभयाे ।

चाडपर्वमा घरपरिवार र आफन्तका लागि कोसेली लैजाने चलनले पनि बजारमा किनमेल बढाएको छ । न्युरोडमा घर लैजान पुष्टकारी किन्दै गरेका डोटीका मोहन पनेरुले दसैँका लागि आवश्यक मसलासमेत काठमाडाैं बाटै किनेर लैजाने गरेको बताउनुभयाे ।

तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले काठमाडौंबाटै किनेर लैजाने गरेको बताउनुभयाे । गाउँघरमाभन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले काठमाडौंबाटै सामान किन्ने गरेको उहाँको भनाइ छ ।

“मसला लगेपछि घरमा बाआमा खुसी हुनुहुन्छ, “दसैँ आएको महसुस गर्नुहुन्छ”, पनेरूले भन्रुभयाे । यता, ललितपुरको लगनखेलस्थित मङ्गलबजारमा पनि चाडपर्व लक्षित किनमेल गर्नेको चहलपहल निकै बाक्लो छ । सामान्य अवस्थामा पनि व्यस्त रहने त्यस बजारमा अहिले ग्राहकको भिड थेगिनसक्नु छ ।

लतितपुरको मङ्गलबजारमा तीन दशकदेखि कपडा व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दसैँमा विगतको तुलनामा व्यापारिक उत्साह कम रहेको अनुभव सुनाउनुभयाे । बाढी पहिरोलगायत विपद्को प्रभाव, बढ्दो महँगी र आर्थिक सङ्कटका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेको उहाँको भनाइ छ ।

“सामानको मूल्य चर्को छ”, उहाँले भन्रुभयाे, “विशेष छुटमा राखेका सामानसमेत बिक्री गर्न चुनौती छ ।” चाडपर्वमा बजारमा चहलपहल बढे पनि उपभोक्ताको क्रयशक्ति र व्यवसायीको व्यापारिक अपेक्षाबिच तालमेल देखिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *