भसभसेको पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने सडक अवरूद्ध

म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।

गत असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पूर्व-पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौं आउजाउ गर्ने सवारी साधनहरूले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

बेनी नगरपालिका–२ खबराका कमल सुवेदीका अनुसार सडक दबेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लिन नसक्ने, सवारी साधनको जाम हुने र बाटो साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम रहेको छ ।

नदी कटान र पहिरोका कारण एक सय मिटर दुरीमा सडक साविकको भन्दा दुई देखि तीन मिटर भासिएको र दबेको उहाँले बताउनुभयाे  । सवारी साधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको उनले जानकारी दिनुभयाे ।

आर्थिक वर्ष २०८१/०८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो । तर हाल ढलान गरिएको सडक सबै भासिएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समस्या समाधान हुन सकेको छैन ।

सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेकै जस्तो अवस्था हुने गरेको उहाँले बताउनुभयाे । सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीहरूलाई डोजरको सहायताले तार्ने गरिएको उहाँले जानकारी दिनुभयाे ।

भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल लगाएर तटबन्ध गर्नाका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक प्रमुख खत्रीले बताउनुभयाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *