गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ । नदी थुनिएपछि जम्मा भएको पानी एकाएक बग्न थालेसँगै ठूलो बाढी आएको जानकारी प्राप्त भएको छ ।
प्रहरीका अनुसार २०८३ असोज २५ गते बिहान ५ः३० बजे पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
नदी थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सचेत गराइएको थियो ।
बिहान ६ः१५ बजेदेखि पहिरोले थुनिएको स्थानबाट पानी बग्न थालेको र त्यसपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको छ । नदी पुनः बग्न थाले पनि बाढीको प्रभाव तथा सम्भावित क्षतिको विवरण भने आउन बाँकी छ ।
हालसम्म घटनाबाट अन्य क्षति भएको विवरण प्राप्त नभएको जनाइएको छ । घटनास्थलको अवस्था र बाढीबाट हुन सक्ने थप क्षतिबारे विवरण संकलन भइरहेको छ ।
