तीन इजरायली क्यारिकेचरिस्टको नेपाल भ्रमण, काठमाडौंमा कार्टुन प्रदर्शनी

काठमाडौं । नेपालस्थित इजरायलको दूतावासको आयोजना तथा सहजीकरणमा इजरायल र नेपालबीचको कलात्मक तथा सांस्कृतिक आदानप्रदानअन्तर्गत काठमाडौंमा इजरायली–नेपाली कार्टुन प्रदर्शनी आयोजना गरिएको छ ।
२८ सेप्टेम्बरमा आयोजित प्रदर्शनीको विषय ‘पृथ्वीका उच्चतम र निम्नतम’ रहेको थियो। प्रदर्शनीमा इजरायली तथा नेपाली कार्टुनिस्टहरूले क्यारिकेचर र कार्टुनमार्फत उक्त विषयलाई प्रस्तुत गरेका थिए ।
नेपाल भ्रमणमा आएका इजरायलका प्रख्यात कार्टुनिस्ट निसिम हेज्कियाउ (नुस्को), प्रा. इतामार डाउबे र उरी फिङ्क प्रदर्शनीमा सहभागी भएका थिए। उनीहरू २८ देखि ३० सेप्टेम्बरसम्म नेपालमा रहेका थिए ।
इजरायली कृतिको समन्वय निसिम हेज्कियाउले गरेका थिए भने नेपाली खण्डको नेतृत्व कार्टुनिस्ट क्लब अफ नेपालका राजेश केसी र रविन्द्र मिश्रले गरेका थिए ।
प्रदर्शनीमा इजरायली कलाकारहरूले अतिथिहरूको प्रत्यक्ष क्यारिकेचर बनाएका थिए । उक्त सत्रलाई दर्शकले रुचिपूर्वक लिएका थिए। धेरै अतिथिले कलाकारहरूबाट आफ्नो क्यारिकेचर बनाउने अवसर पाएका थिए ।
कार्यक्रममा स्वागत गर्दै नेपालका लागि इजरायलकी कार्यवाहक राजदूत जनान बेबारले प्रदर्शनीले पृथ्वीका दुई महत्वपूर्ण स्थान—सबैभन्दा होचो स्थान मृत सागर र सबैभन्दा अग्लो स्थान सगरमाथा—लाई जोडेको बताइन् ।
“सांस्कृतिक कार्यक्रमहरूले कला, सिर्जनशीलता र मानवीय सम्बन्धमार्फत हाम्रा जनतालाई अझ नजिक ल्याउने उत्कृष्ट अवसर प्रदान गर्छन्,” उनले भनिन् । कार्टुन कलाले सरल रेखा, सिर्जनात्मक विचार र हास्यको माध्यमबाट मानिसलाई सोच्न, मुस्कुराउन तथा परिचित कुरालाई फरक दृष्टिकोणबाट हेर्न प्रेरित गर्न सक्ने पनि उनले बताइन् ।
इजरायली कलाकार निसिम हेज्कियाउ (नुस्को)ले नेपालजस्तो सुन्दर र मैत्रीपूर्ण देशमा यस्तो अनौठो प्रदर्शनी आयोजना हुन पाउनु अद्भुत भएको बताए ।
नेपाल भ्रमणका क्रममा इजरायली कलाकारहरूले कार्टुनिस्ट क्लब अफ नेपालसँग आबद्ध नेपाली कार्टुनिस्टसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । सो क्रममा उनीहरूले आफ्ना अनुभव र सिर्जनात्मक दृष्टिकोण आदानप्रदान गर्नुका साथै भविष्यमा सहकार्यको सम्भावनाबारे छलफल गरेका थिए ।
त्यसैगरी, उनीहरूले त्रिभुवन विश्वविद्यालय र दिव्यभूमि मल्टिपल कलेजका पत्रकारिता तथा आमसञ्चारका विद्यार्थीका लागि व्याख्यान तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरेका थिए । सत्रमा ‘द नोटियन अफ मोसन’, ‘एभ्रीवन क्यान मेक कमिक्स वर्कसप’ र ‘अन द फेस अफ क्यारिकेचर पोर्ट्रेट’ लगायत विषय समेटिएका थिए ।
प्रदर्शनी, अन्तरक्रिया तथा व्याख्यानमार्फत इजरायली कलाकारहरूले क्यारिकेचर, कमिक्स र दृश्य सञ्चारको कलासम्बन्धी आफ्ना अनुभव तथा अन्तर्दृष्टि नेपाली कलाकार र विद्यार्थीहरूसँग साझा गरेका थिए । भ्रमणले नेपाल र इजरायलबीच कलात्मक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्न र विचार आदानप्रदानका लागि अवसर प्रदान गरेको दूतावासले जनाएको छ ।

                  

Leave a Reply

Your email address will not be published. Required fields are marked *