छत्रकोट–५ गुल्मामी । मानकोट भ्यूडाँडामा घरेलु हतियार निर्माण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले स्थानीय बुद्धिबहादुर कामी, झुमिला विक र प्रेमबहादुर सिँजालीलाई पक्राउ गरेको हो ।
बुद्धिबहादुर कामीको घर तथा आरनमा खानतलासी गर्दा अवैध हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, औजार तथा जङ्गली जनावरका हड्डी र छाला फेला परेको छ ।
भरुवा बन्दुक बरामद
सोही क्रममा प्रहरीले बुद्धिबहादुरका छिमेकी झुमिला विकको घरमा रहेको आरनबाट एक थान भरुवा बन्दुक तथा बुद्धि बहादुरसँग बन्दुक खरिद गरेको प्रेमबहादुर सिँजालीको घरगोठबाट एक थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयाे ।
प्रहरीले उनीहरूबाट दुई थान भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी/बट आठ थान, काठका बट पाँच थान, फलामका गोली छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद र टिनका बाकसभित्र राखिएका हतियारका पाटपुर्जा समेत बरामद गरेको छ ।
हतियार निर्माण गर्ने सामग्री पनि बरामद
त्यस्तै, हतियार निर्माणमा प्रयोग हुने किटको आरन पङ्खा दुई थान गेलेन्डर मेसिन, एक थान ड्रिल मेसिन, एक थान वेल्डिङ मेसिन, दुई थान भाइब्रेसन मेसिन तथा आरी, बसुला, गिलास, पन्चकस, कैँची, हथौडालगायतका औजार पनि बरामद गरिएको सूचना अधिकारी विश्वकर्माले बताउनुभयाे ।
प्रहरीले उनीहरूको साथबाट जङ्गली जनावरका हड्डी तथा पाँच वटा छाला समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
