चिलिमेको सुरुङमा ६ जना फसेको अनुमान, जीवितै उद्धार गर्न खोजी तीव्र

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार टोलीको मुख्य ध्यान चिलिमे जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ । जलविद्युत आयोजनाका सुरुङहरूमा थुनिएका मानिसहरूको खोजी तथा उद्धार कार्यअन्तर्गत चिलिमे सुरुङभित्र अझै करिब ६ जना फसेको अनुमान गरिएको छ ।

उनीहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना उच्च रहेको भन्दै नेपाली सेना तथा संयुक्त उद्धार टोलीले चिलिमे क्षेत्रको खोजीलाई प्राथमिकताका साथ अघि बढाएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार चिलिमे जलविद्युत आयोजनामा जिउँदै उद्धार गर्न सकिने आशामा सबै प्रयास केन्द्रित गरिएका छन् । ‘हालसम्म नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरुङभित्र करिब ११५ मिटरसम्म प्रवेश गरेर खोजी गरिसकेको भए पनि त्यहाँ कसैको स्थिति स्पष्ट भइसकेको छैन,’ शाक्यले भन्नुभयो, ‘तर ६ जना भित्रै रहेको अनुमानका आधारमा खोजी कार्यलाई तीव्रता दिइएको छ ।’

भौगोलिक जटिलता र ठूला हेलिकप्टर अवतरण गर्ने ठाउँ नभएका कारण उपकरण लैजान कठिनाइ भएपछि गाडी जाने बाटो बनाउन विस्फोटक पदार्थसमेत प्रयोग गरिएको उहाँले खुलाउनुभयो ।
‘उद्धार टोलीले बाटो निर्माण र सुरुङभित्रको खोजी कार्य एकसाथ अघि बढाएको छ र बाटो खुल्नासाथ थप भारी उपकरणहरू परिचालन गरिने तयारी छ,’ शाक्यले भन्नुभयो ।

बाढीपछि कारण जलविद्युत आयोजनाका सुरुङहरू प्रभावित भएपछि नेपाली सेनाको नेतृत्वमा उद्धार टोलीहरूले हवाई र जमिन दुवै मार्गबाट खोजी कार्य गरिरहेका छन् ।

लोकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *