भोटेकोशी बाढीको १३औँ दिन राष्ट्रपति पौडेल नुवाकोट जाँदै

काठमाडौं । भोटेकोशी बाढी आएको १३औँ दिन राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न आज नुवाकोट जाँदै हुनुहुन्छ ।

राष्ट्रपति पौडेल केहीबेरमा हेलिकप्टरमार्फत विदुरस्थित मैथिली ब्यारेक पुग्नुहुनेछ । त्यहाँबाट उहाँले बाढीका कारण भएको क्षति, जारी राहत तथा उद्धार कार्य र प्रभावित नागरिकको अवस्थाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिनुहुनेछ ।

त्यसपछि राष्ट्रपति पौडेल नजिकै रहेको होल्डिङ सेन्टरमा पुगेर त्यहाँ आश्रय लिइरहेका बाढीपीडितसँग भेटघाट गर्नुहुनेछ । उहाँले पीडितहरूको अवस्था बुझ्नुका साथै विपद्को कठिन अवस्थामा उनीहरूलाई सान्त्वना दिनुहुनेछ ।

भोटेकोशी बाढीपछि नुवाकोटसहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने प्रभावित तथा विस्थापित परिवारहरू विभिन्न अस्थायी आश्रयस्थल र होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।

बाढी प्रभावित क्षेत्रमा अहिले पनि खोजी तथा उद्धार, राहत वितरण र विस्थापितको व्यवस्थापनको काम जारी छ । राष्ट्रपति पौडेलको भ्रमणका क्रममा प्रभावित क्षेत्रको पछिल्लो अवस्था, पीडितका आवश्यकता तथा राहत र पुनःस्थापनाका विषयमा समेत जानकारी लिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल नुवाकोटको भ्रमण सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *