काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको छ । ग्यास नपाएपछि उपभोक्ताहरू डिपो तथा बिक्री केन्द्रमा सिलिन्डर बोकेर लाम लाग्न थालेका छन् ।
कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने ग्यासका सिलिन्डर बोकेका सवारीसाधन रोकिएका छन् । त्यसको प्रत्यक्ष असर काठमाडौंमा ग्यासको वितरणमा परेको हो ।
ग्यास लिन पुगेका उपभोक्ताको भीड बढेपछि कतिपय बिक्री केन्द्रमा सिलिन्डरको लाइन नागबेलीझैँ फैलिएको देखिएको छ । लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था आएपछि उपभोक्ताले ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेका छन् ।
