काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला, ४४ बालिका र ३४ बालक रहेको जनाएको छ ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजीका क्रममा ४२८ वटा आंशिक मानव अंग समेत फेला परेका छन्। ८२ शवको भने अझै पहिचान खुल्न सकेको छैन ।
उद्धार तथा खोजी कार्यका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, अवरूद्ध सडक खुलाउने तथा शव व्यवस्थापनको काम गरिरहेका छन् ।
हालसम्म ७८७ शवको व्यवस्थापन भइसकेको प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलाई समेत तीव्रता दिइएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म १ हजार ८३ मृतकको डीएनए नमुना र ५९१ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ ।
विनाशकारी बाढीपछि हराइरहेका व्यक्तिको खोजी, शव पहिचान तथा व्यवस्थापनको काम अझै जारी रहेको प्रहरीले जनाएको छ ।
