धरान । श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आज धरानमा बस्दैछ । अध्यक्ष हर्क साम्पाङले बोलाएको बैठकमा पार्टीसँग एकता गरेको सुदन किराँती समूहलाई भने सहभागी नगराइएको बताइएको छ ।
किराँती समूहलाई बैठकमा नबोलाइएपछि पार्टीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । पार्टी एकतापछि नेतृत्वको कार्यशैली, निर्णय प्रक्रियामा पर्याप्त छलफल नहुने तथा जिम्मेवारी बाँडफाँटलगायतका विषयमा दुवै पक्षबीच असन्तुष्टि रहँदै आएको बताइन्छ ।
विशेषगरी अध्यक्ष साम्पाङ र किराँती समूहबीच पछिल्लो समय बढेको दूरीका कारण पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको चर्चा छ । यस्तो अवस्थामा किराँती समूहबिनै केन्द्रीय समिति बैठक बस्न लागेपछि पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे समेत चासो बढेको छ ।
